काठमाडौं। निर्माण व्यवसायीहरुले देशभर गर्दै आएको धर्ना कार्यक्रम स्थगित गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (मुख्यसचिवस्तर) बाट वार्ताका लागि बोलाइएपछि नेपाल निर्माण व्यवसायी महासंघले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको हो।
सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका त्रुटि सच्याउन, म्याद थप, मूल्यवृद्धि समायोजन लगायतका विषयमा वार्ता गर्नका लागि सरकारले आज (शुक्रबार) बिहान ११:३० मा बोलाएको छ। वार्ताका लागि महासंघका तर्फबाट ५ जना वार्ता टोली गठन गरिएको छ। उक्त टोलिसँग सरकार पक्षले आज पहिलो बैठक गर्ने भएको हो।
.jpg)
वार्ताका लागि सरकरले बोलाएसँगै महासंघले सार्वजनिक खरिद अनुगमन अगाडी दिँदै आएको धर्ना र प्रधानमन्त्री निवास अगाडी दिने भनिएको धर्ना कार्यक्रम स्थगित गरिएको छ। त्यसैगरी महासंघले जिल्ला संघ र प्रदेश महासंघहरुले गर्दै आएको धर्ना कार्यक्रम पनि अर्को सूचना नआएसम्मका लागि स्थगित गर्न निर्देशन दिएको छ।
.jpg)
महासंघले निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि समायोजन, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही त्रुटिहरु सच्याउन माग गर्दै गत वैशाख ८ गतेदेखि विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेको छ। महासंघले ८ गतेदेखि सार्वजनिक खरिद अनुगमन कार्यालयमा दैनिक एक घण्टा शान्तिपूर्ण धर्ना दिँदै आएको थियो । जिल्ला संघ र प्रदेश महासंघहरुले पनि गत वैशाख १३ गतेदेखि आफ्नो जिल्लामा र प्रदेश प्रमुख कार्यालयमा दैनिक एक घण्टा धर्ना दिँदै आएका थिए। महासंघले वैशाख ११ गतेदेखि निर्माण होलिडे घोषणा गरेसँगै देशभरका निर्माण कार्यहरु ठप्प छन्।