काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर तत्काल कार्यान्वयन गर्न मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन्।
मन्त्रालय अन्तर्गतका सचिव, छ विभाग, सात महाशाखा प्रमुख र सहसचिवसँग हिजो छलफल गर्दै उनले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नं ४२६ मा उल्लेख रहे अनुसार लामो समयदेखि बन्द रहेका रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
मन्त्री बडूले लामो समयदेखि बन्द रहेका रुग्ण उद्योग सञ्चालनका विषय सधैँ सरकारको प्राथमिकतामा पर्ने भए पनि हालसम्म सञ्चालन हुन नसकेकाले तत्काल उपयुक्त मोडालिटी तयार गरी पुनः सञ्चालनमा ल्याएर राष्ट्रिय उत्पादन वृद्धि गर्नुका साथै पर्याप्त रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए।
उनले रुग्ण उद्योग सञ्चालनका लागि विभिन्न तहमा छलफल तथा अध्ययन भए पनि अहिलेसम्म परिणाम नदेखिएकाले अब तत्काल कार्यान्वयनमा जाने गरी सञ्चालन ढाँचा बनाउन र सम्बद्ध सबै पक्षसित छलफल र सुझाव लिने व्यवस्था मिलाउन निर्देशनसमेत दिए।
मन्त्री बडूले राज्य संयन्त्र र प्रायः सबैको ध्यान चुनावमा केन्द्रित भएको मौकामा अत्यावश्यक उपभोग्य वस्तु, खाद्य सामग्री, तरकारीलगायतको अस्वभाविक मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभाव देखाई अनुचित फाइदा लिने प्रवृत्तितर्फ सचेत रहनुपर्ने बताए।