काठमाडौं। गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडीले परीक्षण उडान गरेको छ। पर्यटनमन्त्री प्रेमबहादुर आले तथा मन्त्रालयका सचिव, सहसचिवलगायतको सहभागीतामा बिहीबार साँझ गौतम बुद्ध विमानस्थलको परीक्षण उडान गरिएको हो।
२७४ यात्रुसहित साँझ ५:४५ बजे विमान अवतरण भएको थियो। उडानमा चालक दलका आठ सदस्य थिए। विमानस्थल सञ्चालनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कम हुने अनुमान गरिएको छ।
गौतम बुद्ध विमानस्थलको परीक्षण उडानसँगै ८४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। विमानस्थल सञ्चालनपछि नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। आउँदो जेठ २ गतेबाट विमानस्थलबाट व्यवसायिक उडान सुरु हुनेछ।
प्राधिकरणले विमानस्थलमा उडान–अवतरणका लागि वायुसेवा कम्पनीलाई दर्खास्त आह्वान गरेसँगै एक दर्जन वायुसेवाले चासो देखाएका छन्। फ्लाइ दुबई, श्रीलंकन एयरलाइन्स, जजिरा एयरवेज, कतार एयरवेज, नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, गो एयर, गल्फ एयर, थाइ स्माइल, सलाम एयर लगायतले चासो देखाएका हुन्। यी एयरलाइन्समध्ये जजिरा एयरवेजले उडान भर्न अनुमति मागि सकेको छ।