काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबारदेखि शुरु गर्ने भनेको रात्रिकालीन उडान तत्काल नहुने भएको छ। वायुसेवा सञ्चालक संघले नयाँ तालिका एप्रुभ नगरी उडानहरु नै स्थगित गर्ने चेतावनी दिएपछि प्राधिकरणले तत्काल रात्रिकालिन उडानको व्यवस्था लागू नगर्ने भएको हो।
प्राधिकरणले आन्तरिक उडान रहेका एयरलाइन्सहलाई पुरानै तालिका अनुसार उडान गर्न दिने भएको छ।
प्राधिकरणले बिहीबार एयरलाइन्सहरुलाई पत्र पठाउँदै राति १२ बजेसम्मका लागि उडान तालिका ल्याउन निर्देशन दिएको थियो । तर वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै नयाँ तालिका जबर्जस्ती लागू गरिए सम्पूर्ण उडानहरु स्थगन गर्ने चेतावनी दिएसँगै प्राधिकरण आफ्नो निर्णयबाट पछि हटेको हो ।
प्राधिकरणले शुक्रबारदेखिनै तराईका(रात्रिकालीन उडान हुने) विमानस्थलमा बिहान ६ बजेदेखि राति १२ बजेसम्म उडान सञ्चालन गर्ने निर्णय लागू गरेको छ । यद्यपि, प्राधिकरणले लागू गरे पनि एयरलाइन्सहरु भने उडानका लागि तयार नभएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अगुवाईमा त्रिपक्षीय छलफलपछि केही समयका लागि पुरानै तालिका अनुसार उडान गर्ने सहमति भएको छ ।
रात्रिकालीन उडानका लागि अध्ययन गर्नका लागि कार्यदल गठन गर्ने र समितिले २१ गतेसम्म प्रतिवेदन पेस गर्ने सहमति भएको संघका प्रवक्ता योगराज कडेलले जानकारी दिए । कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा २३ गतेदेखि नयाँ तालिका अनुसार उडान एयरलाइन्सहरु तयार भएको बताए ।