काठमाडौं। एकान्तकुना र सातदोबाटो चोकमा फ्लाइओभर र अन्डरपास बनाउन सकड विभागले सरकारसँग बजेट माग गरेको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले ग्वार्कोमा फ्लाइओभर बनाउन ठेक्का लगाएपछि एकान्तकुना र सातदोबाटोमा पनि क्रसिङ पूर्वाधार बनाउन बजेट मागेको हो ।
केन्द्रले यसअघि गरेको अध्ययनमा परमार्शदाताले विभिन्न विकल्पसहित प्रारम्भिक रिपोर्ट दिएको थियो । एकान्तकुना र सातदोबाटोमा कुन प्रकृतिको पूर्वाधार बनाउने भन्ने तय भने भएको छैन ।
प्रारम्भिक रुपमा भएको अध्ययनअनुसार सातदोबाटोमा अन्डरपास र एकान्तकुनामा फ्लाइओभर बनाउनु उपयुक्त देखिएकाले टेन्डर लागेपछि डिजाइन गर्दा उपयुक्त देखिएको विकल्पमा रहेर पूर्वाधार बनाउने विकास केन्द्रले जनाएको छ।
यी दुई ठाउँमा पूर्वाधार निर्माण गर्न करिब ६० करोड रुपैयाँ लाग्ने अनुमान छ ।
वहुवर्षीय ठेक्कामार्फत काम अघि बढाउन स्रोत सुनिश्चितताका लागि प्रस्ताव गरेपनि सहमति भने आइसकेको छैन । सहमति आएपछि सम्बन्धित पूर्वाधारको डिजाइन समेत ठेकदार कम्पनीले ने गर्ने गरी ठेक्का लगाइने बताइएको छ।