काठमाडौं। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले अर्को हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको छ। आइस्पानले विदेशी मुद्रा कारोबारमा लागेको रोकका कारण इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको हो।
नेपालमा इन्टरनेट सेवा बाहिरबाट ब्यान्डविथ खरिद गरेर सञ्चालन हुने गरेको छ। नेपालमा इन्टरनेट सेवा प्रदायकले उक्त ब्यान्डविथ प्रयोगको भुक्तानी विदेशी मुद्रामा गर्नुपर्छ। आइस्पानका अनुसार सञ्चार मन्त्रालयले आइएसपीका भारतीय अपस्ट्रिम प्रदायक सेवा टाटा, एयरटेल, सिफीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिसमा पूर्ण रोक लगाएको छ।
६ महिनादेखि ब्यान्डविथ भुक्तानी गर्न नसकेको भन्दै सेवा नै अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो। आइस्पानका अध्यक्ष सुधीर पराजुलीले विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवा बन्द हुने अवस्थामा पुगेको जनाएका छन्। सञ्चार मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्न विदेशी मुद्रा सिफारिस रोकेको आरोप आइस्पानको छ।
संघीय संसदको सार्वजनिक लेखा समितीबाट दूरसंचार नियमावली २०५४ अनुसार सपोर्ट, मर्मत र प्राविधिक शुल्क र मनिटरिङ शुल्क लगायत गैर–दूरसंचार सेवामा ग्रामीण दूरसंचार विकास शुल्क (आरटीडीएफ) र रोयल्टी नलाग्ने भन्दै बेरुजु लगत हटाउन निर्देशन दिएको आइस्पानले जनाएको छ।
उक्त निर्देशनलाई पालना नगरी मन्त्रालयले बेरुजुको विषयलाई लिएर विदेशी मुद्रा सिफारिस रोकेर निजी क्षेत्रको इन्टरनेट सेवा नै बन्द गर्न अग्रसर भएको आरोप आइस्पानले लगाएको छ।