मोरङ। रानी भन्सार नाका जोड्ने भारतको बथनाहास्थित परमाण खोलाको पुल आंशिक रुपमा सञ्चालनमा आएको छ। परमाण खोलामा निर्माणाधीन नयाँ चार लेनको मीरगन्ज पुल आंशिक रूपमा सञ्चालनमा आएको हो।
पुल सञ्चालनमा आएसँगै सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरुलाई मालसामान सडकमार्ग ढुवानी सुविधा भएको छ। पुरानो पुल भासिएपछि विराटनगरको रानी नाका भएर ढुवानीका साधन चल्न पाएका थिएनन्। मोरङ व्यापार संघले लामो समयदेखि मीरगञ्ज पुलको जीर्णोद्वारका लागि पटक पटक नेपाल–भारत सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै आएको थियो।
मोरङ–सुनसरी औद्योगिक करिडोरका औद्योगिक प्रयोजनका सवारी साधनको चाप व्यवस्थापनका लागि उच्च क्षमताको नयाँ चार लेनको पुलको निर्माण गर्न संघले भारत सरकारका विभिन्न निकायमा पहल गर्दै आएको थियो।
पुल नयाँ निर्माणको योजना १६ वर्ष अघिकै थियो। काम बल्ल अघि बढेको हो। आंशिकरूपमा चालु भएको पुल केही सातामै पूर्णरुपमा सञ्चालनमा आउने बताइएको छ।