बागलुङ। लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल संचालनका लागि धावनमार्ग कालोपत्रे गरिएको छ। धावनमार्ग कच्ची हुँदा विमान संचालनमा समस्या आएपछि अहिले विमानस्थल कालोपत्रे गरिएको हो।
धावनमार्ग कालोपत्रे भएपछि बलेवावासीमा नियमित रुपमा जहाज उडान हुने आशा पलाएको छ। २६ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाले वि.सं. २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा ल्याएको थियो।
नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान गरे पनि नियमित संचालनमा आउन नसकेपछि कालोपत्रे गरिएको हो। धावन मार्गमा बर्षातको समय हिलो र हिउँदमा धुलो हुँदा उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो।
पूर्वाधार निर्माण भएपछि अब जहाज चलाउन समस्या नहुने स्थानीय बताउँछन्।
विमानस्थलको ७ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरिएको छ। धावनमार्ग कालोपत्रेसँगै पेन्टिङ र छेउछाउ तारबार गरिएको छ।
विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई यातायातमा सहज पहुँच हुनुका साथै साविकको धौलागिरी क्षेत्रको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
धावनमार्ग नागरिक उड्यन प्राधिकरणको ७ करोड रुपैयाँ लागतमा काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी बल्खुले कालोपत्रे गरेको हो। कालोपत्रे सम्पन्न भएकोले परीक्षण उडान गरी नागरिक उड्यन प्राधिकरणलाई हस्तान्तरण गरिने बताइएको छ।