काठमाडौं। सरकारले आगामी जेठ १ बाट लागू हुने गरी हप्तामा दुई दिन सार्वजानिक बिदा दिने निर्णय गरेको छ। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
उक्त निर्णयबाट पोखराका पर्यटन व्यवसायी खुसी भएका छन्। आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन बिदा माग गर्दै आएका व्यवसायी सरकारको सो निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेका छन्।
कोरोना सङ्क्रमणका कारण थलिएको पर्यटनमा शनिबार र आइतबार बिदाको निर्णयले आन्तरिक पर्यटक बढ्ने उनीहरूको विश्वास छ। होटल सङ्घले विज्ञप्ति नै निकालेर सरकारको निर्णयले सकारात्मक सन्देश दिएको बताएको छ।
कोभिड–१९ को महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुईदिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रूपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास रहेको बताइएको छ।