काठमाडौं। सडक विभागका महानिर्देशक शिवहरी सापकोटाले निजामती सेवाबाट अनिवार्य अवकाश प्राप्त गरेका छन्। महानिर्देशकको रुपमा सडक विभागमा नियुक्त भएको चार महिनामा सापकोटाले निजामती सेवाबाट अवकाश पाएका हुन्।
सापकोटा गत पुष १५ गते सडक विभागको महानिर्देशको रुपमा नियुक्त भएका थिए। सापकोटा २०५२ मा सरकारी सेवामा तत्कालीन हवाई विभागमा इन्जिनियरमा नियुक्त भएका थिए। २०५७ सालमा सडक विभागमा सरुवा भए। २०६३ मा सिनियर डिभिजनल इन्जिनियरमा बढुवा भएका थिए। त्यसको ६ वर्षपछि अर्थात २०६९ मा सहसचिवमा बढुवा भए।
उनले सडक डिभिजन चरिकोटमा ६ वर्ष काम गरेका छन्। मन्त्रालयमा तीन वर्ष, ओखलढुंगामा एसियाली विकास बैंकको प्रोजेक्टमा दुई वर्ष, धनकुटामा डिभिजन प्रमुख भएर दुई वर्ष, राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्ष, पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयमा प्रमुखको रूपमा तीन वर्ष, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयमा डेढ वर्ष, सडक विभाग प्लानिङमा डेढ वर्ष काम गरिसकेका छन्।
महानिर्देशक हुनु अघि उनी मन्त्रालयको भौतिक पूर्वाधार निर्माण तथा यातायात महाशाखामा थिए।