काठमाडौं। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ। पाथीभरा सडकको सुकेटार–काफ्लेपाटी खण्डको कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो।
ट्रयाक निर्माण भएको लामो समयपछि उक्त सडकखण्ड कालोपत्रे गर्न लागिएको हो। कुल ११ किलोमिटर दूरी रहेको सुकेटार–काफ्लेपाटी सडक खण्ड कालोपत्रे गर्न लागिएको हो। दर्शनार्थीका कारण अध्यधिक सवारी चाप हुने यो सडक वर्षा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ।
उक्त सडक कालोपत्रे गर्ने जिम्मा कन्टेन निर्माण प्रालिले पाएसँगै निर्माणको कार्य सुरु भएको छ। सडक कालोपत्रे गर्नेलाई अहिले नालि निर्माण, ग्राभेल गर्नेजस्ता कार्यहरू धामधम भइरहेको कन्टेक निर्माण प्रालिले जनाएको छ।
दुईवटा एक्साभेटरलगायत उपकरणको प्रयोग गरी ग्राभेल गर्ने कार्य भइरहेको कम्पनीले बताएको छ। ठेक्का सम्झौता समयअगावै कालोपत्रे गरिसक्ने योजनाका साथ निर्माणको कार्यलाई तीब्रता दिएको बताइएको छ।
उक्त पाथीभरा सडक कालोपत्रे भएपछि पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिको तथ्याङ्क अनुसार हाल वार्षिक तीन लाखको हाराहारीमा तीर्थयात्री पाथीभराको दर्शन गर्न आउने गरेका छन्।