काठमाडौं। गायक राजु लामाले ६५ सय मिटरभन्दा माथि सगरमाथाको क्यामप–३ मा कन्सर्ट गरेका छन्। सगरमाथा क्षेत्रको ६ हजार ५ सय ७४ मिटरको उचाइमा गायक लामाले एकल कन्सर्ट गरेका हुन्।
उनले जलवायु परिवर्तनको असरबारे सन्देश दिन सगरमाथाको क्याम्प–३ मा पुगेर गीत गाएका हुन्। योसँगै राजु लामाको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ। यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार ४ सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए। उक्त रेकर्डलाई गायक राजुले तोड्दै नयाँ कीर्तिमान राखेका छन्।

राजुले उक्त क्याम्पमा आफ्नो सार्वजनिक नै नभएको ‘हिमालले डाक्यो मलाई’ बोलको गीतको गाएका थिए। त्यसैगरी उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘६५ सय मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो छैन। तर मलाई त्यहाँको पातलो हावा र चुनौती मन पर्यो। हाम्रो उद्देश्य जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरी यसको प्रभावबारे सचेतनाको सन्देश दिनु हो।’