काठमाडौं। देशव्यापी बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द नहुने भएको छ। आइस्पानका प्रतिनिधि र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भएको भेटमा मन्त्री सकारात्मक देखिएपछि इन्टरनेटको समस्या समाधान हुने भएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द गरेका कारण इन्टरनेट काटिने अवस्थामा पुगेको थियो।
गत शनिबार इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधिर पराजुलीले विज्ञप्ति जारी गर्दै इन्टरनेट बन्द भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका थिए।
नेपालका इन्टरनेट सेवा प्रदायकहरूले भारतको टाटा, एयरटेल र सिफ्फीबाट व्यान्डविथ खरिद गर्दै आएका छन्। अध्यक्ष पराजुलीकाअनुसार कम्पनीले विगत ६ महिनादेखि भारतीय कम्पनीलाई शुल्क भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिति आएको हो।
सञ्चार मन्त्रालयले लामो समयदेखि बेरुजु देखाएर भुक्तानी रोकिदिएको थियो।
छ महिनादेखि ब्यान्डविथको रकम भुक्तानी गर्न नसकेपछि भारतीय कम्पनीले इन्टरनेट बन्द गर्ने चेतावनी दिएको थियो।