काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। गृहमन्त्री खाणले बुधबार बिहान विमानस्थलको निरीक्षण गरी फ्लाइटको तयारी बारे जानकारी लिएका हुन्।
मन्त्री खाणले विमानस्थलमा अध्यागमनको तयारी, अराइभल र डिपार्चर लगायतको तयारीबारे जानकारी लिए। उनले विमानस्थल अध्यागमन कार्यालयमा काम गरिरहेका कर्मचारीलाई अन्तर्राष्ट्रिय फ्लाइट आयो भने, काम गर्न सक्ने अवस्था भएको छ छैन भन्ने बारेमा सोधेका थिए। जवाफमा कर्मचारीहरुले आफूहरु पूर्ण रुपमा तयार भएको बताए।
त्यस्तै उनले विमानस्थलको प्राविधिक पक्षबारे पनि जानकारी लिए । गृह मन्त्रालय अन्तर्गत गर्नु पर्ने काम पूरा भए नभएकोबारे पनि निरीक्षणका क्रममा गृहमन्त्री खाणले अध्यागमन कार्यालयसँग जानकारी लिए ।
विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय फ्लाइट गर्ने तयारी भइरहेको छ । जजिरा एयरलाइन्सले आफूले पहिलो फ्लाइट गर्न सहमति जनाइसकेको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।