काठमाडौं। नेपाल आयत निगमले निर्वाचन अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगर्ने भएको छ। चुनावी नतिजामा प्रभाव पर्ने भन्दै सरकारको निर्देशनमा निगमले मूल्यवृद्धि नगर्ने भएको हो।
इन्डियन आयल कर्पोरेशन (आइओसी) ले भने नेपालमा बढाएर नयाँ मूल्यसूची पठाएको छ। उक्त मूल्यसूची अनुसार निगमले घाटा अत्याधिक खेप्नु पर्ने भन्दै विज्ञप्ति जारी गरेपनि नेपालमा मूल्यवृद्धि गर्ने भन्ने बारे उल्लेख गरेको थिएन।
२०७१ असोज दोस्रो सातादेखि नेपालमा पनि अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार कायम हुनेगरि पेट्रोलियममा स्वचालिन मूल्य प्रणाली कार्यान्वयनमा ल्याउँदा मूल्य घढबढमा निर्णयको अधिकार निगम संचालक समितिलाई दिइएको थियो। तर यतिबेला तेलको मूल्य घढबढ हुँदा राजनीतिलाई प्रभाव पार्ने भएकाले सरकारले हस्तक्षेप गरेर मूल्य यथावत राख्न लगाएको हो।
मूल्य नबढाउँदा निगमलाई पेट्रोलियम पदार्थ आपूर्तिका लागि १० देखि १५ अर्ब रुपैयाँ अतिरिक्त पैसा चाहिन्छ। यो पैसा नदिए निगमले तेल खरीद गर्ने भारतको आइओसीले तेल कटौती गर्छ।
आईओसीले मे १ मा पठाएको मूल्यअनुसार निगमलाई पेट्रोल लिटरमा २३ रुपैयाँ र डिजलमा ४० रुपैयाँ नोक्सानी छ।१५ दिनमा निगमलाई पेट्रोलमा ७१ करोड रुपैयाँ र डिजलमा ३ अर्बभन्दा बढी नोक्सानी छ।