काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ र सरकारबीचको बुधबारको बैठक निष्कर्ष बिना टुंगिएको छ। महासंघ र प्रधानमन्त्री तथा मन्त्रीपरिषदका मुख्यसचिवसहित बुधबार भएको दोस्रो बैठक बिना निष्कर्ष टुंगिएको हो।
निष्कर्ष ननिस्किएपनि छलफल सकारात्मक भएको महासंघले जनाएको छ। हिजोको बैठक पुन: शुक्रबार तेस्रो बैठक बस्ने गरी टुंगिएको छ।
महासंघले निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही त्रुटिहरु सच्याउनुपर्ने लगायतको माग राख्दै गत वैशाख ८ गतेदेखि आन्दोलन गर्न शुरु गरेको थियो। महासंघले ११ गतेदेखि निर्माण होलिडे गरी देशभरका निर्माण कार्य ठप्प समेत गरेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयमा दैनिक धर्ना दिँदै आएको महासंघले प्रधानमन्त्री निवास अगाडी धर्ना दिने घोषणा गरेसँगै सरकारले वार्ताका लागि बोलाएको थियो। महासंघको उक्त मागको विषयमा यसअघि वेशाख १६ गते मुख्यसचिवसहितको टोलीसँग महासंघका अध्यक्षसहितको ५ सदस्यीय टोलीले छलफल गरेको थियो।
सो समयमा महासंघको मागका विषयमा बुझेको मुख्य सचिवको टोलीले आन्तरिक छलफल गर्ने भन्दै बुधबार फेरि छलफलका लागि बाेलाएकाे थियाे। साेही अनुसार हिजो बैठक बसेपनि निष्कर्ष भने निस्किएन। हिजाेकाे वार्ता सकारात्मक भएको तर कानुनी र नीतिगत कुराका लागि शुक्रबार फेरि छलफल गर्ने महासंघले जनाएको छ।