हेटौंडा। हेटौंडा उपमहानगरपालिमा राप्रपाबाट मेयरका उम्मेदवार दीपकबहादुर सिंहले आफूले जिते तलबभत्ता नलिने बताएका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै उमेदवार सिंहले मेयर जितेमा तलबभत्तामा थप गरेर विकासमा खर्च गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले आफू भ्रष्टाचार गर्न नभइ विकास गर्नका लागि उमेदवार बनेको बताए। उनले भने, ‘मैले भ्रष्टाचार गर्न मेयरमा उम्मेदवारी दिएको होइन । र यदि मैले मेयर जितेर १ लाख तलबभत्ता पाएँ भने खल्तीको २ लाख थपेर वडा–वडामा विकासका निम्ति रकम बाँड्नेछु ।’ उनले आफू मेयरमा विजयी भए सरकारी गाडी समेत नचढ्ने र सेवा–सुविधाबापत आएको तलबभत्तामा आफ्नो पैसा थपेर शिक्षा, स्वास्थ्य तथा विकासमा खर्च गर्ने बताए। सिंहले नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएको बताए।
सिंहले आफूले जिते नगरको विकास गतिलाई तीव्र बनाएर महानगरको स्तरमा पुर्याउने दाबी पनि गरे।
आफू विजय भए सेवा–सुविधायुक्त अस्पताल निर्माण गर्ने, घर–घरमा वृद्धभत्ता पुर्याउने र हेटौंडालाई महानगर बनाउने सिंहले बताए। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरमा पाँच दलीय गठबन्धन, नेकपा एमाले र राप्रपाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।