काठमाडौं। चालू आर्थिक वर्षमा तीन वटा मात्र सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न हुने भएको छ। हाल देशभरमा ११ वटा सुरुङमार्ग सम्भाव्यता अध्ययनको चरणमा रहे पनि यस आर्थिक वर्षमा तीन वटाको मात्र सम्भाव्यता अध्ययन पूरा हुने भएको हो।
नेपालमा हाल २२ वटा सुरुङमार्ग अध्ययन तथा निर्माणाधीन अवस्थामा छन् । जसमध्ये नागढुंगा सुरुङमार्ग निर्माणाधीन अवस्थामा र सिद्धबाबा सुरुङमार्ग आयोजनाको ठेक्का सम्झौता २०७८ माघमा भएको छ ।
त्यसबाहेक अन्य सुरुङमार्गहरु सम्भाव्यता र विस्तृत सम्भाव्यता अध्ययनको क्रममा रहेको सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
२२ वटा मध्ये सिद्धबाबासहित १५ वटा सुरुङमार्ग सरकारले आफ्नै लगानीमा निर्माण गर्न लागेको छ। केन्द्रलाई स्वदेशी लगानीमा निर्माण हुने १५ वटा सुरुङमार्गको मात्रै जिम्मेवारी रहेको छ ।
वैदेशिक सहायता तथा ऋण अनुदानमा निर्माण हुने अन्य सुरुङमार्गको जिम्मेवारी सडक विभाग अन्तर्गतकै अन्य निकायलाई दिइएको छ । १५ वटा सुरुङमार्ग मध्ये ३ वटाको चालू आर्थिक वर्ष अर्थात् असारमसान्तमा सम्भाव्यता अध्ययन सम्पन्न हुने बताइएको छ।