काठमाडौं। आन्तरिक वायुसेवा कम्पनी १८ घण्टा उडान गर्न तयार भएका छन्। कम्पनीहरुले उडानका लागि सेड्युल बनाएर नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाइसकेका हुन्।
प्राधिकरणको १८ घण्टा उडान गर्ने निर्णयमा सहमत हुँदै बुद्ध, यती, श्री, सौर्य, गुण एयरलाइन्सले नयाँ सेड्युल पेश गरेको प्राधिकरणले जनाएको छ।
यस अघि प्राधिकरणले १८ घण्टा उडानका लागि स्लट दिँदा वायुसेवा संचालक संघले विरोध जनाएको थियो। नयाँ स्लट लागू भएमा संघमा आवद्ध कम्पनीहरुले आन्तरिक उडान नै स्थगित गर्ने चेतावनी समेत दिएको थियो। संघको चेतावनीपछि प्राधिकरणले पुरानै स्लट अनुसार उडान नियमित गरेको थियो।
वायुसेवा कम्पनीहरुले आफ्नो उडान तालिका पेश गरिसकेकाले अब प्राधिकरणबाट पास भएको तालिकापछि नयाँ तालिका अनुसार उडान हुने बताइएको छ।
एक साता अगाडि प्राधिकरणले जारी गरेको स्लटमा वायुसेवा कम्पनी असन्तुष्ट भएपछि प्राधिकरणले अध्ययन समिति गठन गरेको थियो।