चितवन। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकातर्फबाट मेयर उम्मेदवार बनेकी रेणु दाहालले दोस्रो कार्यकालका लागि पनि आफू विजयी भए गौरवका आयोजना सम्पन्न गर्ने बताएकी छन्।
भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले ५ वर्षे पहिलो कार्यकालमा विकासको कास्टिङ मात्र देखाएको भन्दै अब गौरवका आयोजनामा आफ्नो ध्यान रहने बताएकी हुन्।
उनले अब पूर्वाधार विकासलाई नयाँ उँचाईंमा पुर्याउने प्रतिबद्धता गरिन। दाहालले भनिन्, ‘मैले पहिलो कार्यकालमा विकासको कास्टिङ देखाएँ । अब फिल्म देखाउनेछु । अब गौरवका आयोजनालाई पूर्णता दिनेमा मेरो ध्यान केन्द्रित हुनेछ।’
दाहालले आफ्नो कार्यकालमा ६ सय २२ किमी सडक कालोपत्रे भएको र चितवनको पर्यटन विकासमा पनि धेरै काम भएको दाबी गरिन् । आफू पाँच दलको तर्फबाट साझा ढंगले अघि बढ्ने प्रतिवद्धता उनले जनाएकी छन्।
दाहालले ५ वर्षे आफ्नो कार्यकालमा गर्व गर्न लायक काम गरेको दाबी समेत गरेकी छन्। उनले भनिन्, ‘यो पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी सिधा आँखाले जनता र प्रतिपक्षका अगाडि कुरा गर्न सक्छौं, गर्व गर्न लायक काम गरेका छौं। अब थप पाँच वर्ष समय पाउने हो भने अघि बढेका आयोजना पूरा हुन्छन्।’