नवलपरासी। पश्चिम नवलपरासीको सुनवल गौरीघाटदेखि रुपन्देहीको केरवानी जोड्ने गरी कचरार खोलामा बन्न लागेको पुलको निर्माण कार्य छ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। नवलपरासीको वडा नम्बर ७ को सुनवल गौरीघाटलाई रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ४ को केरवानीसँग जोड्ने गरी दुई जिल्लाको सिमानाका रूपमा रहेको कजरार खोलामा पाँच वर्ष पहिला सडक डिभिजन कार्यालयको रेखदेखमा पुल निर्माण सुरु गरिएको थियो। पुलको दुईतर्फका पिल्लर मात्र बनेको छ भने निर्माण सामग्री यत्रतत्र फालिएको अवस्थामा रहेको सुनवल नगरपालिका–७ का स्थानीयवासी दीपक सुनारले बताए।
नेपाल सरकारको छ करोड ६३ लाख रुपियाँको लगानीमा बन्न लागेको कचरार खोलाको पक्की पुल निर्माणको काम २०७३ देखि सुरु गरिएको भए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल समयमा निर्माण हुन नसकेर अलपत्र परेको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर सागर पोखरेलले बताए। पुल निर्माण सुरु गरेको १८ महिनामा निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने भए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण वर्षौंदेखि काम अलपत्र परेको छ।
पुल निर्माणका लागि मैनाचुली सिद्धसाही अञ्जना जेबी कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएको छ। रुपन्देहीको ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल भवानीपुर र बुद्धको मावलीस्थल पण्डितपुर पर्यटकीय स्थललाई जोड्ने गरी बनाउन लागेको कचरार खोलाको पुल नबन्नाले यस क्षेत्रमा आउने पर्यटकसहित रुपन्देही र नवलपरासी दुवैतर्फका स्थानीयलाई आवतजावतमा समस्या परेको सुनवल–७, गौरीघाटका स्थानीय घनश्याम मकवानीले बताए। बचरार खोलामा बन्न लागेको यो पुलको लम्बाइ ३५ मिटर र चौडाइ ११ मिटर रहेको इन्जिनियर पोखरेलले बताए। आजको गोरखापत्र दैनिकबाट