दोलखा। दोलखामा पुरातात्विक शैलीमा कुमारी घरको पुनर्निर्माण गरिएको छ। स्थानीयको सहभागितामा भूकम्पले ध्वस्त भएको कुमारी घरको पुनर्निमाण गरिएको हो।
पुनर्निमार्णका लागि ८१ लाख रुपैयाँ खर्च भएको कुमारी मन्दिर निर्माण उपभोक्ता समितिका सचिव सुरेश श्रेष्ठले जानकारी दिए।
दोलखा जिल्लामा रहेको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिर, तलेजु, तथा भीमेश्वरको भण्डार घरको निर्माण पुरातत्व विभागबाट सम्पन्न भएपनि कुमारी घरको निर्माण नभएका कारण स्थानीयकै सहभागीतामा कुमारी घरको निर्माण सम्पन्न गरेको उनले बताए ।
कुमारी घर निर्माणको लागि भीमेश्वर नगरपालिकाले १७ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने बाँकी ६४ लाख रुपैयाँ स्थानीयहरुले चन्दा संकलन गरेका थिए । पुरातात्विक घर निर्माणका लागि एउटा परिवारबाट १२ लाख रुपैयाँसम्म चन्दा प्राप्त भएको सचिव श्रेष्ठको भनाइ छ । पुरातात्विक शैलीमा निर्माण गरिएको भवनमा दाचिअप्पा इँटको प्रयोग गरिएको छ ।
दुई तल्ला रहेको उक्त भवनमा कलात्मक साँझ्याः(तीन ओटा झ्याल) तथा आँखिझ्यालहरु राखिएको छ । यसैगरी छानो भने तामाको लगाइएको छ । काठहरु सबै सालका प्रयोग गरिएको कुमारी मन्दिर निर्माण उपभोक्ता समितिले बताएको छ ।
ऐतिहासिक दोलखा शहरमा रहेका केही मुख्य पुरातात्विक संरचनाहरुको निर्माण सम्पन्न भइसके पनि नाट्यश्वर, श्यामसन्दुर मन्दिर, चैत्यहरु लगायतको निर्माण हुन भने सकेको छैन ।