काठमाण्डौं। वर्षौँदेखि डुबान र कटानको समस्या भोग्दै आएका धनुषाको धनुषाधाम नगरपालिका–४ रामपुरका मतदाताले खोलामा पुल बनाइदिने उम्मेदवारलाई आफ्नो मत दिने बताएका छन्। बलुवा खोलामा पुल बनाईदिने उम्मेदवारलाई मत दिने बताएका हुन्।
बलुवा खोलामा पुल निर्माण नहुँदा वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलिया सहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्णा यात्रा गर्न बाध्य छन्।
कामविशेषले धनुषाधाम बजारसम्म आवतजावत गर्ने सो क्षेत्रका स्थानीयवासी एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कातिर खोला गहिरो भएकाले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम छ।
सुक्खायाममा केही सहज भए पनि बाढीको समयमा दुई महिनासम्म स्थानीयवासीलाई आवतजावत गर्न गाह्रो हुन्छ। सो खोलामा पुल निर्माण भए सहजरूपमा बजारसम्म आवतजावत गर्न सकिने स्थानीयले बताए।
पुल निर्माणपछि गाउँबाट धनुषाधाम बजारसम्म पुग्न पाँच किलोमिटर जति मात्र हुनेछ। त्यो दूरी पैदल एक घण्टा र सवारीसाधनमा ओहोरदोहोर गर्न १० मिनेट मात्र लाग्छ।
निर्वाचित भएदेखि नै धनुषाधाम नगरपालिकाका जनप्रतिनिधिलाई समेत खोलाले पुर्याउँदै आएको क्षति र पुलको आवश्यकताबारे ध्यानाकर्षण गराए पनि आश्वासनबाहेक केही पाउन नसकेको उनिहरुको गुनासो छ।
खोलामा तटबन्धसँगै पुल निर्माणको ग्यारेन्टी गर्ने उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा मतदान गर्ने मतदाताले बताएका छन्।