काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि १५ अर्ब भन्दा कम बजेट पाएको छ।
आगामी आर्थिक वर्ष २०७९/८० का लागि पर्यटन तथा मन्त्रालयले १५ अर्ब ७२ करोड ९४ लाख रूपैयाँ बराबरको बजेट सिलिङ पाएको हो।
चालु आर्थिक वर्षमा मन्त्रालयले २६ अर्ब १० करोड ७ लाख रूपैयाँ पाएको थियो। अहिले मन्त्रालयले १० अर्ब ३७ करोड १३ लाख रूपैयाँ कम बजेट सिलिङ पाएको हो। चालु आर्थिक वर्षको बजेटको तुलनामा यसपालि मन्त्रालयले पाएको बजेट करिब ६० प्रतिशत कम हो।
राष्ट्रिय योजना आयोगले मन्त्रालयलाई पठाएको बजेट सिलिङका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार गरिन्छ। समग्रमा बजेट सिलिङ घटेर आए पनि पुँजीगत तर्फको बजेट बढेर आएको मन्त्रालयले जनाएको छ। चालु र वित्तीय व्यवस्था अन्तर्गतको बजेट भने कटौती गरिएको छ।
यसले सरकारले प्रशासनिक खर्च र मन्त्रालय अन्तर्गतका संस्थानहरूमा सेयर तथा ऋण लगानी घटाउने तर विकास निर्माण तर्फको बजेट भने बढाउने नीति लिएको देखिन्छ।
आगामी आर्थिक वर्षका लागि पुँजीगततर्फ बजेट सिलिङ ३७ करोड रूपैयाँ बढेको छ। यसमा पर्यटन पूर्वाधार विकास, निर्माण र पुरातात्विक स्थल संरक्षण लगायत कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
बजेट अभावका कारण चालु आर्थिक वर्षमा सरकारले घोषणा गरेको ‘पर्यटन काज कार्यक्रम’ भने कार्यान्वयनमा नआउने भएको छ।