काठमाडौं। नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको राजीनामा माग गरिएको छ। नेपाल वायु सेवा निगमका तीनवटै संयुक्त ट्रेड युनियनमा आवद्ध कर्मचारीहरूले पर्यटनमन्त्री प्रेम आलेसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै कार्यकारी अध्यक्ष अधिकारीको राजीनामा माग गरेका हुन्।
उनीहरुले मन्त्री आलेलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै अधिकारीले निगम सञ्चालन गर्न नसक्ने भन्दै राजीनामा माग गरेका छन्। पत्रमा अध्यक्ष अधिकारीमाथि निगम सञ्चालनका लागि कुनै पनि योजना नभएको, निगमको व्यापार राम्रो हुँदा समेत कर्मचारी सञ्चय कोषमा किस्ता नबुझाएको, निकट भविष्यमा सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक गुरुयोजना नबनाएको आरोप लगाइएको छ।
अध्यक्ष अधिकारीको छानबिनका लागि समिति गठन भएको छ। निगमभित्र पछिल्लो समय भएका असन्तुष्टि र कर्मचारीमाथि भएको दमनका विषयमा अध्ययन गर्न पर्यटन मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डेको संयोजकत्वमा छानबिन समिति बनाएको छ।
निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले गत सातादेखि नै अध्यक्ष अधिकारीको राजीनामा माग गरिरहेको हो।
अध्यक्ष अधिकारीले कर्मचारीमाथि पटकपटक अभद्र व्यवहार गरेको र आफ्नो मनोमानीमा चलाएको भन्दै उनको राजीनामा माग गरिरहेका छन्। गत शुक्रबार अध्यक्ष अधिकारीको कार्यकक्षमा ताला समेत लगाइएको बताइएको छ।