काठमाडौं। गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि अवलोकन गरिएको छ। बोर्ड अफ एयरलाएन्स रेप्रिजेन्टेटिभ नेपाल (बार्न)ले विमानस्थलको अवलोकन गरेको हो।
विभिन्न कम्पनीका प्रतिनिधि र जिआइए (गौतम बुद्ध क्षेत्री अन्तर्राष्ट्रिय विमानस्थल)का कर्मचारीबीच छलफल भएको छ। विमानस्थल संचालन व्यवस्थापनका लागि प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णको मूल समिति र विमानस्थल प्रमुख दाहालको मूल समिति खडा गरिसकिएको बताइएको छ।
जेठ २ गतेपछि विभिन्न वायुसेवा कम्पनीले आफ्नो तालिका पेश गर्ने योजना रहेको पनि बताइएको छ।
नागरिक उड्डयन प्राधिकरणले नेभिगेशन र पार्किङको छुट दिने प्रस्ताव उड्डयन मन्त्रालयमा गएपनि हालसम्म स्वीकृत नभएको उनले जानकारी दिए। दशैं अघिनै अन्तर्राष्ट्रिय उडान गर्दै आएका अधिकांश वायुसेवा कम्पनीले नियमित व्यवसायिक उडान गर्ने तयारी रहेको उनले जानकारी दिए।
यो विमानस्थलमा जजिरा एयरवेजले जेठ २ गते बाटै नियमित व्यवसायिक उडान गर्ने तालिका पाइसकेको छ। संगठनका अनुसार यतिखेर फ्लाइ दुवई र एयर अरेबियाले पनि छिट्टै उडान गर्ने योजना बनाएका छन्।
बार्न नेपालमा हवाई सेवा दिँदै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको छाता संगठन हो। यो गैरनाफामुलक संस्थाले विभिन्न मुलुकको वायुसेवा कम्पनी र यात्रुको हितमा काम गर्दै आएको छ।