काठमाण्डौं। तुइन विस्थापनअन्तर्गत महाकाली नदीमा निर्माण भएका दुई वटा झोलुङ्गे पुल सञ्चालनका तयारी गरिएको छ। नेपालमा भइरहेको स्थानीय तह निर्वाचनलगत्तै झोलुङ्गे पुल सञ्चालनको तयारी गरिएको हो।
पुल निर्माण भएको तीन महिनापछि व्यास गाउँपालिका–४ स्थित मलघट्ट झोलुङ्गे पुल, मालिकार्जुन गाउँपालिका–६ बाँकुस्थित बाकु झोलुङ्गे पुल सञ्चालनको तयारी गरिएको हो। वडा नं ६ को बडुगाउँ पुल पनि निर्माण भैसकेको छ।
तुइन विस्थापनअन्तर्गत महाकाली नदीमा दुई वटा झोलुङ्गे पुलको तयारी
पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले झोलुङ्गे पुल नियमित सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको बताइएको छ।
झोलुङ्गे पुल निर्माण भएका स्थानमा दुवैतर्फ सुरक्षा व्यवस्थापन गर्ने विषयमा शनिबार खलङ्गामा भएको नेपाल–भारतका सुरक्षा अधिकारीबीचको समन्वय बैठकमा छलफल भएको थियो। पुल नियमित सञ्चालनका लागि दुवै देशका अधिकारी सहमत भएको र आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाएर चुनावपछि नियमति गराउन अघि बढेको बताईएको छ।
झोलुङ्गे पुल निर्माण भए पनि पुल हस्तान्तरण र नियमित भएको पत्र नआउँदा स्थानीयवासीले अहिले तुइनकै सहारामा महाकाली वारपार गर्नुपरेको छ।
मल्घट्टे तथा मालमा रु २ करोड ७३ लाखको लागतमा र बाकु तथा बडूगाउँमा रु २ करोड ५५ लाख ६४ हजारको लागतमा उक्त पुल निर्माण भएको हो। पुल नियमित सञ्चालन भएपछि त्यहाँ त्यसमा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुन्छ।