काठमाडौं। गोरखाको उत्तरी भेगमा खटिएका एक जना म्यादी प्रहरी बिरामी परेपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।
चुमनुब्री गाउँपालिका–३ स्थित पानसाङ आधारभूत विद्यालयमा खटिएका धार्चे गाउँपालिका खोर्ला गाउँका ५१ वर्षका बेलबहादुर घले बिरामी भएपछि उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको गोरखाका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २४ गतेदेखि मतदान स्थलमा खटिएका बललाई पेट दुख्ने समस्या भएपछि हिँडेर करिब डेढ घण्टामा पुग्ने सिर्दिवासस्थित स्वास्थ्य चौकीसम्म स्ट्रेचरमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौंस्थित प्रहरी अस्पताल पठाइएको हो।