सुर्खेत। कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व संकलन भएको छ। यहाँका विभिन्न पर्यटकीय स्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व संकलन भएको हो।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा सबैभन्दा बढी आन्तरिक पर्यटक घुम्न आएका थिए। २०७८ वैशाख–पुससम्म बुलबुले ताल दृश्यावलोकन गर्न एक लाख ५१ हजार २८२ आन्तरिक र ५५ बाहय पर्यटक आएका थिए। उनीहरूबाट रू २१ लाख ७१ हजार राजस्व संकलन भएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख देवकुमारी शाहीले जानकारी दिइन् ।
त्यस्तै २०७८ वैशाख–पुससम्म काँक्रेबिहार घुम्न एक लाख ७४ हजार ३६९ आन्तरिक र १२ बाह्य पर्यटक आएका थिए । उनीहरूबाट ६ लाख १८ हजार राजस्व संकलन भएको थियो। वीरेन्द्रनगरस्थित प्रादेशिक शहीद उद्यान पर्यटकीय स्थल घुम्न आउने १६ हजार २०० आन्तरिक पर्यटकबाट चार लाख ५० हजार राजस्व संकलन भएको छ । गत चैतसम्म माथिल्लो कर्णालीको मुगु रारातालमा १३ हजार ११३ आन्तरिक र ६६ बाह्य पर्यटकले दृश्यावलोकन गर्दा ९ लाख ३३ हजार राजस्व संकलन भएको छ।
साउन–मङ्सिरसम्म दैलेखको गुराँस गाउँपालिकाको गुराँसे भ्यूटावर हेर्ने आउने ६ हजार १४९ आन्तरिक पर्यटकबाट तीन लाख सात हजार राजस्व संकलन भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीका अनुसार १० जिल्लाका पर्यटकीयस्थलको विवरण आउन बाँकी छ ।‘आगामी वर्ष २०७९र८० मा बाह्य पर्यटक आकर्षणका लागि ‘एक जिल्ला, एक पर्यटकीय उपज’ नीति लिएर पर्यटन प्रवर्द्धन र पूर्वाधारका योजना तथा कार्यक्रम बनाउँदै छौं,’ उनले भने ।