डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पश्चिमसेती परियोजना निर्माणका विषयमा सम्झौता हुन सक्ने बताएका छन्।
डडेलधुरामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बुद्ध जयन्तीका दिन लुम्बिनी आउन लागेका मोदीसँग पश्चिमसेती परियोजना निर्माणका आवश्यक कुरा गर्ने बताएका हुन्।
उनले नेपालले आफ्नै लगानीमा पश्चिमसेती बनाउन सक्ने अवस्था नरहेकाले भारतीय प्रधानमन्त्री मोदीसँग पश्चिमसेती निर्माणका लागि आवश्यक कुरा गर्ने बताएका हुन्। प्रधानमन्त्री देउवाले भने‚ ‘चीन वा अन्य देशको प्रोजेक्टको बिजुली भारतले किन्न मान्दैन त्यसैले भारतले बिजुली किन्नेगरी पश्चिमसेती निर्माण गर्ने विषयमा मोदीसँग कुरा हुन्छ।’
उनले विद्युत् परियोजना बनाउने भारतको भरपर्दो कम्पनीसँग सम्झौता गरी जलाशययुक्त पश्चिमसेती परियोजना निर्माण गर्नुपर्ने बताए।
देउवाले भने‚ ‘जलाशययुक्त परियोजना नबन्दासम्म लोडसेडिङको समस्या समाधान नहुने भएकाले सुख्खा समयमा विद्युत् उत्पादनका लागि यो नै उपयुक्त विकल्प हो । ’ देउवाले पश्चिमसेती मात्रै होइन‚ पञ्चेश्वरका विषयमा पनि भारतीय प्रधानमन्त्रीसँग सार्थक वार्ताको तयारी भइरहेको बताए ।