काठमाडौं। टाटा मोटर्सले ल्याउन लागेको नयाँ विद्युतीय कार ‘नेक्सन इभी म्याक्स’ बुधबार लन्च हुने भएको छ। विद्युतीय सवारीमा लामो दुरीको यात्रालाई लक्षित गरेर टाटा मोटर्सले ल्याउन लागेको विद्युतीय कार आज लन्च हुने भएको हो।
कम्पनीका अनुसार यो कारमा नेक्सन इभीको यसअघिको मोडेलको तुलनामा ३० प्रतिशत ठूलो ब्याट्री राखिएको छ जसले एकपटक फुल चार्ज गर्दा करिब ४३७ किलोमिटर दुरी पार गर्नेछ।
कम्पनीले दाबी गरेअनुसारको माइलेजले काठमाडौं–पोखरा बराबरको दुरी आउजाउ गर्न सकिनेछ। काठमाडौं–पोखराको दुरी सडकमार्गबाट करिब २०५ किलोमिटर हो। यसकारण टाटाको यो इभी विद्युतीय गाडीमै लामो दुरीको यात्रा गर्ने इच्छा राख्नेका लागि उपयुक्त सवारी बन्न सक्ने देखिन्छ।
यसलाई पुरानो नेक्सन इभीको जस्तै जीपट्रोन टेक्नोलोजी प्लेटफर्ममा निर्माण गरेको टाटा मोटर्सले जनाएको छ।
टाटाले नेक्सन इभी म्याक्स मोडल दुई भेरियन्टमा आउने जनाएको छ। यसमा जेडएक्स प्लस र जेडएक्स प्लस लग्जरी भेरियन्ट छन्।
यो इलेक्ट्रिक एसयुभीमा ठूलो ब्याट्री प्याक जडान गरिएको छ। साथै अरु केही नयाँ फिचरहरु पनि थप गरिएका छन्। वायरलेस मोबाइल चार्जिङको सुविधा पनि यसमा रहनेछ।
यसमा सबैभन्दा ठूलो परिवर्तन भनेको ४०.५ किलोवाट क्षमताको ब्याट्री प्याक छ। जुन पहिलेको मोडेलमा ३०.२ किलोवाट क्षमताको थियो। लामो दुरीको यात्रामैत्री बनाउनका लागि डिजाइन गरिएको यस गाडीमा ठूलो क्षमताको ब्याट्री जडानका लागि कम्पनीले गाडीको स्पेसमा पनि परिमार्जन गरेको छ।