बुटवल। भारतीय वायुसेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ। भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर उक्त विमान विमानस्थलमा अवतरण गरेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन जेठ २ गते गर्ने लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान आएको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ दिल्लीबाट सोझै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको हो।
यो नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो अन्तर्राष्ट्रिय विमान भएको विमानस्थलले जनाएको छ। भारतीय सुरक्षाकर्मीलाई छोडेर विमान आजै दिल्ली फिर्ता जाने बताइएको छ। उक्त विमानस्थल जेठ २ गते नै औपचारिक उद्घाटन हुँदैछ।