फाइल तस्बिर
रसुवा। रसुवाको पर्यटकीय क्षेत्र लाङटाङका नागरिकहरू भोट हाल्न हेलिकोप्टर चढेर गाउँ पुगेका छन्। सडकको पहुँच नपुगेको लाङटाङका नागरिक भोट हाल्न हेलिकोप्टरबाट गाउँ गएका हुन्।
गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका नागरिक हेलिकोप्टरमार्फत भोट हाल्नकै लागि गाउँ फर्किएका छन्। २० जनाभन्दा बढी स्थानीय हेलिकोप्टर चढेर गाउँ फर्किएका हुन् ।
सडकको पहुँच नपुगेका कारण लाङटाङ क्षेत्रका नागरिक यसअघि पनि हेलिकोप्टर चढेर भोट हाल्न गाउँ पुग्ने गरेका थिए । काठमाडौं बस्ने तथा देश बाहिर पुगेका लाङटाङ क्षेत्रका नागरिक निर्वाचनको समयमा गाउँ आउने गरेका छन्।
रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ पुग्न काठमाडौंबाट स्याफ्रुबेसीसम्म गाडी र स्याफ्रुबेसीबाट पैदल यात्रापछि मात्र पुगिन्छ । काठमाडौंबाट स्याफ्रुसम्म गाडीमा एक दिन र स्याफ्रुबाट डेढदेखि दुई दिनको पैदल यात्रा गरेर लाङटाङ पुगिन्छ । लाङटाङ ट्रेकिङ टुरिजमको रूपमा समेत चिनिन्छ ।
गोसाइँकुण्ड गाउँपालिका–४ स्थित सामुदायिक भवनमा मतदान केन्द्र तोकिएको छ । लाङटाङ क्षेत्रमा तीन सय ६३ जना मतदाता रहेको निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।