लुम्बिनी। आगामी जेठ २ गते लुम्बिनीमा आयोजित २५६६ औं बुद्ध जयन्तिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि आउँदै छन् । मोदी नेपालका सम्मानीय प्रधानमन्त्री शेर बहादुर देउवाको निमन्त्रणमा लुम्बिनी आउने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ।
भारतीय प्रधानमन्त्री मोदी एकदिने भ्रमणका कुशिनगरबाट सिधैं भारतीय विशेष विमान मार्फत सिधै लुम्बिनीमा ओर्लने भएका हुन् । भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका लागि परराष्ट्र मन्त्रालय, लुम्बिनी विकास कोष तयारी तीव्र रूपमा अघि बढाएका छन् । नयाँदिल्लीस्थित नेपाली दूतावास र विदेश मन्त्रालय पनि उक्त भ्रमणको तयारीमा जुटेका छन् ।
प्रधानमन्त्री देउवाको निमन्त्रणमा मोदी २५६६ औं बुद्ध जयन्तीको अवसर पारेर गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका हुन् । मोदी करिब ५ घण्टाका लागि लुम्बिनी आउने र त्यस अवसरमा उनले मायादेवीको मन्दिरमा पूजाआजा र भारतले बनाउने विहारको शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा र मोदी दुवै मिलेर अन्तराष्टिय बौद्ध सम्मेलन केन्द्र तथा ध्यान केन्द्रमा आयोजित लुम्बिनी दिवस तथा बुद्ध जयन्तीको मूल समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैतेयले बताए ।
मोदी हेलिकोप्टरमा आउने भएपछि लुम्बिनीमा चारवटा हेलिप्याड बनाइँदै छ । सभाहल परिसरलाई रंगरोगनले सिँगारिएको छ ।
भारतीय सम्राट अशोकपछि लुम्बनीमा राजा कनिष्क, त्यसपछि हर्षबर्धन र त्यसपछि भारतको कार्यकारी प्रधानमन्त्री मोदी लुम्बिनी आउने भएपछि लुम्बिनी क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटनमा विशेष बढवा हुने अपेक्षा गरिएको छ ।