सुनसरी। पर्यटकको आकर्षक गन्तव्य बन्दै गएका सुनसरीका सिमसार क्षेत्रहरु अति आकर्षक बन्दै गएका छन् त्यति नै दूषित पनि छन्।
सिमसार क्षेत्रको संरक्षण तथा फोहोर व्यवस्थापनमा स्थानीय सरकारले चासो नदिँदा प्रदूषित बन्दै गएका पर्यटकले गुनासो गर्न थालेका छन् । सिमसार क्षेत्रका पानीका मुहान पनि सुक्दै गएका छन् । एकातिर वनभोज खान आउनेहरूले जथाभावी फोहोरले प्रदूषित बन्दै गएको छ भने तालतलैयामा रहेका जलकुम्भीका कारण आकर्षक तालतलैयाको सौन्दर्य नै हराउन थालेको छ ।
फोहोरले दूषित बनाउँदै गएपछि इटहरीस्थित तालतलैया क्षेत्रमा गत शनिवार सरसफाइ गरिएको छ । तालमा भरिएका जलकुम्भीहरू नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत स्थानीयहरूको सहयोगमा सरसफाइ गरिएको हो ।
जलकुम्भीले वातावरणमा नकरात्मक असर पर्ने र तालको सुन्दरता ढाकिने भएपछि सरसफाइ गरिएको तालतलैया संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालले बताए । ‘तालतलैयाको सुन्दरता देखेरै सयौं सर्वसाधारण तालतलैया घुम्न आउँछन् । जलकुम्भीका कारण ताल कुरूप बन्दै गयो । यसको सुन्दरतामा निखार ल्याउन पनि हामीले सरसफाइ गरेका हौं,’ उनले भने ।
पछिल्लो समय तालतलैयामा रहेको पोखरी, चिल्ड्रेन पार्क, चिडिया घर र विभिन्न आकृति खोपिएका ढुंगाका मूर्तिहरूले तालतलैयामा सर्वसाधारणको आकर्षण बढेको बताइएको छ ।