काठमाडौं। गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ। त्रिभुवन विमानस्थल संचालनमा आएको करिब साढे सात दशकपछि नेपालमा आजबाट दोस्रो अन्तरराष्ट्रिय विमानस्थल संचालनमा आउने भएको हो।
विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र पर्यटनमन्त्री प्रेम आले आइतबार नै भैरहवा पुगिसकेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण (क्यान), विमानस्थल निर्माणको मुख्य वित्तीय साझेदार एशियाली विकास बैंक (एडीबी) लगायतका विशिष्ट पदाधिकारीहरु पनि विमानस्थल उद्घाटनमा सहभागि हुँदै छन्।
प्रधानमन्त्री देउवाले आज बिहान यो दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ। विमानस्थल उद्घाटन समारोहको तालिका बिहान ७ देखि साढे ८ बजेसम्मका लागि तय गरिएको छ। देउवाले ७ बजे नै यसको उद्घाटन गर्ने छन्।