काठमाडौं। नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ। अहिले सात जना विदेशीसहित दस जना पर्यटक लाप्चातर्फ लागेका छन्। लिमी उपत्यकाको अवलोकन र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न ती पर्यटक सिमकोटबाट त्यसतर्फ लागेका हुन्।
रिचा टुर एन्ड ट्राभलका पथप्रदर्शक असीम तामाङले सिमकोटबाट पैदल मार्ग हुँदै लिमी र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सात जना विदेशीसहितको टोली त्यसतर्फ लागेको जानकारी दिए। उक्त टोलीले पाँच दिन लगाएर लाप्च पुगी मानसरोवर कैलाशको दर्शन गर्नेछ। टोली पाँच हजार मिटर अग्लो न्यालु लेकको हिउँ छिचोलेर लाप्चातर्फ जान लागेको हो। उनले लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गरेर लिमी क्षेत्रको पनि अवलोकन गर्ने बताए। सातै जना विदेशी पर्यटक रसियाका हुन्।
उनीहरूमा तीन जना महिला र चार जना पुरुष रहेका छन्। मानसरोवर कैलाश चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्छ। हुम्लाबाट मानसरोवर जान सकिने भए पनि प्रतिकूल हावापानीका कारण सहज छैन। त्यसैले पछिल्लो समय नेपाली भूमि लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै गएको हो। वैशाख ४ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरेका थिए।
कोरोना महामारीपछि लाप्चा क्षेत्रबाट बाह्य तथा आन्तरिक पर्यटक गएर मानसरोवर कैलाशको दर्शन गर्ने सङ्ख्यामा वृद्धि भएको छ। कोरोना महामारीको पहिलो वर्ष लाप्चाबाट साढे तीन सय आन्तरिक पर्यटकले मानसरोवर, कैलाशको दर्शन गर्नुभएको थियो भने दोस्रो वर्ष साढे पाँच सय आन्तरिक तथा बाह्य पर्यटकले दर्शन गरेका थिए।
गत वर्ष भदौमा भारतीय सद्गुरु जग्गी वासुदेवले पैदल मार्गबाट लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरेका थिए। उनको टोलीमा ५० जना विदेशी पर्यटक रहेका थिए। सद्गुरुको लाप्चा भ्रमणपछि भारतीय पर्यटकको सातवटा टोली लाप्चा पुगेको थियो। गोरखापत्रबाट