काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको एक दिवसीय भ्रमणका क्रममा अहिले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइगेका छन्। प्रधानमन्त्री मोदी हेलिकप्टरबाट भर्खरै लुम्बिनी आईपुगेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा उनी लुम्बिनी आईपुगेका हुन्। प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गरेका छन्। आज २५६६ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको विशेष अवसर पारेर प्रधानमन्त्री मोदी लुम्बिनी आएका हुन्।
भारतका प्रधानमन्त्री मोदीसहितको प्रतिनिधि मण्डललाई लुम्बिनीमा भव्य स्वागत गरिएको छ। लुम्बिनीमा रहँदा प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुहुने कार्यक्रम रहेको छ। यसैगरी, विशेष कार्यक्रममा दुवै देशका प्रधानमन्त्री देउवा र मोदीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री मोदी विभिन्न कार्यक्रमसहित छ घण्टा लुम्बिनीमा रहेर आजै अपरान्ह ४ बजे भारत फर्कने कार्यक्रम रहेको छ।