चन्द्रशम्शेरले बनाएको धेरै पक्की झोलुङ्गे पुलहरु मध्य कास्कीबाट मुस्ताङ जाने बाटोमा पर्ने तातोपानीमा बनाइएको पुल पनि एक हो । वीर शम्शेरको समयमानै कामको जीम्मा पाएको र चन्द्रशम्शेरले बिसं १९५३ देखि नेपालमा झोलुङ्गे पुल राख्ने अभियानको शुरुवात गरेका थिए । यस्ता पुलहरु बनाउने अभियान काठमाण्डौंमा मात्र नभई दुर्गम गाउँहरुको लागी पनि बनाइएको थिए ।
केहि वर्ष लुइस हार्पर कम्पनीबाट सामग्री ल्याएपनि उक्त कम्पनी बन्द भए पश्चात जोन एम हेन्डरसन भन्ने कम्पनिबाट समान ल्याएको थियो । सन १८६६ मा स्थापना भएको कम्पनिले १८८० बाट फलामे पुलको सामाग्री तयार गर्यो र सन १९२७ बाट पानीजहाज कारखानापनि शुरुवातमा ल्याएको थियो ।
बाँसबाट बनेका पुलहरु वर्षातको समयमा भेलले बगाएर लाने भएका कारण युरोपबाट फलामे सामग्रीहरु ल्याएर नेपालमा पक्की झोलुङ्गे पुलहरु निर्माणको सुरुवात भएको हो । हार्पक कम्पनिले सातवटा पुल निर्माण गरेको थियो भने जोन एम हेन्डरसन कम्पनीले सय भन्दा बढि झोलुङ्गे पुलहरु बनाएको थियो । सिन्धुली र रामेछापको बिचमा सुनकोशी नदिमा बिसं १९६४ मा पुल बनाइएको थियो । खुर्कोटमा बनाएको पुलले लामो समयसम्म सेवा दियो । उक्त पुललाई २०४२ सालको बाढीले बगाएको थियो ।
एबरडीन कम्पनीलाई चन्द्रशम्शेरले कतिवटा पुल जडान गर्न दिए भन्ने यकिन तथ्य नभए पनि ऐतिहासिक पुराना झोलुङ्गे पुलहरुको इतिहास खोतल्दै जाँदा जोन एम हेन्डरसन एण्ड कम्पनी लिमिटेड मा राखिएको तथा उस्तै बनावटका सयौं पुलहरु भेटिएको छ । काठमाण्डौंमा बागमति र बिष्णुमति नदीमा मर्स्याङ्दी नदीको , कालीगण्डकी नदीको विभिन्न ठाउँमा त्यस्तै तमोर, सुनकोशी, बिजयपुर खोला, भेरी नदीमा पनि जोन एम हेन्डरसन एण्ड कम्पनी लिमिटेड लेखिएको फलामे झोलुङ्गे पुलहरु बनाएका थिए ।
नेपालको बिभिन्न जिल्लामा स्थानिय कामीहरुले स्थानिय काँचो फलामका धातुहरु आरनमा गालेर आफ्नै हातले बनाएका फलामका साङ्लाबाट आफ्नै बलबुताले झोलुङ्गे पुल बनाउने गरेको इतिहास भेट्दछौ । अझै पनि यस किसिमका फलामे साङ्लाबाट बनाइएका पुलहरु बिभिन्न स्थानमा भेट्न सक्छौ । सन १९६० र ७० को दशकमा स्वीस तथा अमेरिकी सहयोगमा आधुनिक पुलहरु बनेको थियो ।
मथिको तस्बिर कालीगण्डकी नदीमा बनाइएको झोलुङ्गे पुलको हो । तिब्बतबाट मरमसला तथा उनका सामाग्री काठमाण्डौं पुराउने गरिन्थ्यो । त्यस्ता सामग्री लानको लागी यो पुलको निकै महत्व रहेको थियो । उक्त पुल मुक्तिनाथ मन्दिरको दर्शनको लागि जानेहरुको लागी पनि महत्वपुर्ण रहेको थियो ।