काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा विहारको शिलान्यास गरेका छन्। सोमबार बिहान लुम्बिनी पुगेका प्रधानमन्त्री मोदीले भारत सरकारले निर्माण गर्ने बिहारको शिलान्यास गरेका हुन्।
शिलान्यासपछि मोदीले र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले मायादेवीमा पूजाआजा गरे। मोदीले मन्दिर छेउमा रोपिएको बोधी वृक्षमा जलार्ण समेत गरे।
मोदीको लुम्बिनी भ्रमणका क्रममा भएको द्विपक्षीय वार्ताका क्रममा नेपाल र भारतबीच विभिन्न ६ विषयमा सहमती भएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयसँग भारतीय विभिन्न संस्थाले सहकार्य गर्ने लगायतका विषयमा सहमती हुनुको साथै सतलज जलविद्युत निगम लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच अरुण चौथो परियोजना विकास तथा कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ।