काठमाडौं। भैरवाहस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ्ग कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ। सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै औपचारिक रुपमा सञ्चालनमा आएको विमानस्थलमा यात्रु र सेवाग्राहीलाई चाहिने सम्पूर्ण सेवासुविधा राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गर्ने भएको हो।
यसका लागि बैंकले मंगलबारदेखि नै विमानस्थल क्षेत्रमा ५ वटा काउन्टर पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ। राष्ट्रिय वाणिज्य बैंक भैरहवा शाखाका अनुसार विमानस्थलभित्र डिपाचर, बोर्डिङ वेटिङ, एराइभल, कस्टम र कार्गो काउन्टर सञ्चालनमा ल्याइएको छ । डिपार्चर काउन्टरमा विदेशी मुद्राको सटहीको व्यवस्था गरिएको छ। साथै बोर्डिङ वेटिङ काउन्टमा भ्याट रिफन्डसम्बन्धी सेवा प्रवाह गरिनेछ ।
यसैगरी एराइभल काउन्टरमा विदेशी यात्रुले भिसा शुल्क तिर्न सक्नेछन् । यसका लागि यो काउन्टरमा एटीएम र पीओएसको सुविधा पनि रहेको छ ।
यसैगरी विमानस्थलभित्र बैंकले कस्टम काउन्टर पनि सञ्चालनमा ल्याएको छ । यो काउन्टरमार्फत यात्रुले विदेशबाट ल्याएका सामानहरुको भन्सार विमानले तोकेबमोजिमको भन्सार शुल्क तिर्न सक्नेछन् । उता कार्गो काउन्टरमार्फत पनि भन्सार महसुल संकलन गरिने बैंकले जनाएको छ ।