काठमाडौं । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले पर्यटन विकासका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक भएको बताएका छन् ।
पोखरा पर्यटन परिषद्ले दसैं, तिहार तथा छठका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बरालले पर्यटन आर्थिक समृद्धिको आधार भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन विकासमा जुट्न प्रदेश सरकार तयार रहेको बताएका हुन् ।
उनले कोभिड– १९ को महामारीले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन पोखराको हिमा गृह, रत्न मन्दिरलगायत नयाँ पर्यटकीय गन्तव्य खुलाउन पहल गर्ने प्रतिबद्धता जनाए । उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात पर्यटकका लागि सुरक्षित गन्तव्यमा पुर्याउन फाष्ट ट्र्याकको आवश्यकता औंल्याउँदै यसमा ध्यान दिने बताए।
पर्यटनलाई निर्वाहमुखी र तटस्थतावादी सोचबाटमाथि उठाउन जरुरी रहेका औल्याउँदै सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सफल पार्न निजी क्षेत्र र सरकारबीच छलफल गरेर कार्ययोजना तय गर्नुपर्नेमा उनले जोड दिए ।