काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी तथा व्यापारीहरूसँग छलफल गरेका छन् । अर्थमन्त्री शर्माले आयातित स्टिल बिलेटमा अन्त शुल्क बढाएपछि दुई ध्रुवमा बाँडिएका डण्डी उद्योगी तथा व्यापारीहरूसँग आइतबार छलफल गरेका हुन्।
छलफलका क्रममा अर्थमन्त्री शर्माले उद्योग नबढाउने भए डण्डीमा लगाइएको ३० प्रतिशत अन्तःशुल्क हटाउने प्रस्ताव अघि सारेका छन्।
‘हामीले उद्योग नबढाउने हो भने तपाईहरु पनि सहमति गर्नुहोस्, हामी पनि छलफल गर्नेछौँ, अब ३० प्रतिशत डण्डीमा अन्त शुल्क लागेको छ, त्यो हटाइदिन्छौँ । डण्डी ल्याऔँ बेचौँ, नाफा जोगाउन पाइहालिन्छ । यो सबैलाई मान्य होला जस्तो मलाई लाग्छ,’ अर्थमन्त्री शर्माले भने, ‘विद्युत खपत कति, भ्याल्यूएशन कति, श्रमिकहरुको अवस्था कस्तो, रोजगारी के र कति हुन्छ सचिवसँग तत्काल छलफल गरेर तपाईहरु एउटा रिपोर्ट बनाउनुस्, त्यसपछि हामी फेरि बसेर छलफल गरौँला ।’
छलफलमा ज्योती समूहका उपाध्यक्ष डा।रुप ज्योतीले प्रतिस्थापन विधेयक डब्लुटिओको सिद्धान्त विपरित भएको बताए । उनले अहिले प्रतिस्थापन विधेयक मार्फत् दिइएको छुटले राष्ट्र र जनतालाई खतरा रहेको समेत जनाए ।