दैलेख। दैलेखको दुल्लु नगरपालिकाका नवनिर्वाचित नगरप्रमुखले पदभार ग्रहण गरेसँगै गर्भवती र सुत्केरी महिलाका लागि निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने बताएका छन्।
नवनिर्वाचित नगरप्रमुख भरतप्रसाद रिजालले गर्भवती र सुत्केरी महिलालाई राहत पुग्नेगरी यातयात सेवा निशुल्क बनाउने घोषणा गरेका हुन्।
नगरप्रमुख रिजालसहित नगर उपप्रमुख बिना कार्कीले पदभार ग्रहण गरेकी छन्। दुल्लु नगरको प्रमुखमा नेपाली कांग्रेसबाट रिजाल र उपप्रमुखमा एमालेबाट कार्की निर्वाचित भएका थिए।
पदभार ग्रहणपछि मेयर रिजालले गरेको निर्णयमा भनिएको छ, ‘नगरपालिका भित्रका गर्भवती र सुत्केरी तथा नवजात शिशुको अकालमा ज्यान सक्ने अवस्था विद्यमान छ। सुरक्षित प्रसुती सेवा प्रदान गर्ने शिलशिलामा दुल्लु अस्पतालबाट प्रदान हुने सेवा अप्रयाप्त तथा सुरक्षित हुन नसक्ने अवस्थामा दैलेख जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेतलगायत आवश्यकता अनुसार उच्च तहको सेवा प्राप्त गर्न उपयुक्त अस्पतालमा त्यस्तो प्रकृतिका बिरामीहरूलाई लैजानु पर्ने आकस्मिक अवस्था सृजना भएमा यातायात खर्च स्वरूप एम्बुलेन्स सेवा निशुल्क गरिनेछ।,’
गर्भवती तथा सुत्केरी महिलाहरूलाई उपचारका लागि दुल्लु क्षेत्र भन्दा बाहिर लिनुपर्ने अवस्थामा दुल्लु अस्पतालको सिफारिसमा एम्बुलेन्स सेवा प्रयोगगरी बिरामीलाई दुल्लु अस्पताल भन्दा बाहिर लैजाँदा प्रयोग हुने एम्बुलेन्स सेवा निशुल्क गर्ने गरी नगरप्रमुख रिजालले पहिलो निर्णय गरेका हुन्।
यो निर्णयसंगै नगर क्षेत्रका गर्भवती र सुत्केरी महिलाहरूलाई लाभ हुने नगर उपप्रमुख बिना कार्कीले बताइन्। थप उपचारका लागि दुल्लु अस्पताल बाहिर लैजानुपर्ने तर आर्थिक अभावमा यातायात खर्चसमेत जुटाउन नसक्दा गर्भवती र सुत्केरी तथा नवजात शिशुले अकमलमै ज्यान गुमाउनु पर्ने विकराल समस्या अन्त्य हुने अपेक्षा गरिएको उपप्रमुख कार्कीले बताइन्।