काठमाडौं। भैरहवामा यहि जेठ महिनाभित्रमा वैदेशिक रोजगार कार्यालय स्थापना गरिने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भैरहवा पुगेर वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सहजताका लागि वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने घोषणा गरेका हुन्।
मन्त्री श्रेष्ठको घोषणासँगै अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरु श्रम स्वीकृतीका लागि काठमाडौं आउनु पर्ने बाध्यता हट्ने भएको छ।
हाल सो विमानस्थलबाट जजिरा एयरले कुवेतका लागि सिधा उडान गरिरहेको छ । तर, पहिलो श्रम स्वीकृतीका लागि काठमाडौंमा आउनु पर्ने र यहाँबाट जाँदा दोहोरो खर्च भएको जनगुनासो बढेपछि श्रम मन्त्री श्रेष्ठ शुक्रबार भैरहवा गएका थिए।
उनले भैरहवामै म्यानपावर कम्पनिका शाखा, अभिमुखिकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि जेठभित्रै संचालन गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रमिक सहायता कक्षको पनि अवलोकन गरेका थिए ।