काठमाडौं। भारतीय हवाई सेवा कम्पनी जेट एयरवेजले एयर अपरेटरको प्रमाणपत्र पाएको छ। भारतीय नागरिक उड्डयन प्राधिकरण डायरेक्टोरेट जनरल अफ सिभिल एभिएसनले जेट एयरलाई अनुमति दिएको हो।
केही महिनादेखि कम्पनी पुनः नयाँ स्वरुपमा सञ्चालनका लागि प्रक्रिया अघि बढाएको वायु सेवा व्यवस्थापन अनुमति पाएको हो। कम्पनीले गत महिना भिस्ताराका पूर्व योजनाकार तथा कमर्सियल अफिसर संजीव कपुरलाई सीइओ नियुक्त गरेको थियो।
उडान अनुमति पुनः प्राप्त गरेपछि कपुरले कम्पनीलाई २५ वर्षदेखि जे–जे राम्रो सेवाका कारण चिनिन्थ्यो, त्यो साख फर्काउने बताएका छन्। दक्षिण एसियाली मुलुकका वायुसेवामध्ये निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी मानिएको जेट एयरवेज लगातार घाटामा गएपछि बन्द भएको थियो। यसका जहाज २०१९ अप्रिल तेस्रो सातादेखि ग्राउन्डेड छन्।