काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको कार्यसमिति बैठक मुगुको रारामा बसेको छ। एशोसिएसनले शुक्रबार बिहान २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो।
बैठकलाई सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुब थापाले प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको संदेश प्रदान गर्न खोजेको बताए। यसमा सबै पक्षको सहयोग महत्वपूर्ण रहेको पनि उनको भनाइ छ।
अध्यक्ष थापाले कर्णाली साँच्चै सुन्दर रहेको भए पनि आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको भन्दै देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात सञ्जालमा रारालाई छिट्टै जोड्नु पर्ने बताएका छन्।
बैठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोबाइल्स एशोसिएशनसँग पनि रारा तालको परिसरमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो । सो कार्यक्रममा कर्णाली अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माण लगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, ब्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम संचालन र अन्तरप्रदेश सम्बन्ध लगायतका विषयमा आफ्नो धारणा राखेका थिए।