काठमाडौं। ओखलढुंगामा अर्धचेत अवस्थामा फेला परेकी एक किशोरीमाथि बलात्कार भएको हुनसक्ने आशंका गरिएको छ। अहिले उनको थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।
आइतबार बिहान ५ बजे मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ५ स्थित सडकमा १८ वर्षीया किशोरी फेला परेकी थिइन्।
अर्धचेत अवस्थामा फेला परेकी उनको थप उपचारको लागि काठमाडौं पठाइसकेको जिल्ला प्रहरी कार्यालय ओखल्ढुंगाले जनाएको छ। अल्टिच्युड हेलिकप्टरमार्फत् उनलाई काठमाडौं ल्याइएको हो। अहिले उनको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
उनको टाउकोमा चोट लागेको छ। गए राति घरपरिवारसँगै सुत्न गएकी उनी बिहान करिब ४ बजे घरमा थिइनन्। घरमा नभएपछि परिवार र छिमेकी मिलेर उनको खोज्न हिँडेका थिए।
खोज्ने क्रममा करिब ५ बजे किशोरी घरभन्दा अन्दाजी डेढ किलोमिटर पर रहेको ठाउँमा फेला परेको हो।
यो घटनामा किशोरीमाथि बलात्कार पनि भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपी प्रहरीले मेडिकल रिपोर्ट आइनसकेको हुँदा भन्न नसकिने बताए।
प्रहरीले एक जनामाथि शंका लागेर नियन्त्रणमा लिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।