म्याग्दी। कालिगण्डकीमा तटबन्ध निर्माण गर्न ढिलो गर्दा बेनीबजार जोखिममा परेको छ। गत असार १ गते कालिगण्डकी नदीमा आएको बाढीले तटबन्ध भत्काएपछि असुरक्षित बनेको बेनीबजार संरक्षणका लागि कुनै पनि प्रकारको पहल नभएपछि जोखिममा परेको हो।
बेनी नगरपालिका– ७ म्याग्दी जेसिजको भवन नजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन। कालिगण्डकी नदीको बहाफले म्याग्दी जेसिज भवन नजिक ग्याविङ भत्काएको क्षेत्रमा यो वर्ष तटबन्ध निर्माणका लागि ठेक्का लागे पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा नदी कटानको जोखिम रहेको स्थानीयले बताए।
उक्त बेनी बजार संरक्षणको काम रौताह–बीएनबी कन्ट्रक्सनले नौ करोड ४५ लाख १७ हजार ७४२ रुपैयाँमा ठेक्का लिएर २०८० साल पुससम्ममा सम्पन्न गर्ने सम्झौता रहेको बताईएको छ। कालीपुलमा ८० र संगम चोकपछाडि म्याग्दी जेसिजको भवन नजिकै कालीगण्डकी किनारमा करिब १६८ मिटर आरसीसी र मंगलाघाटस्थित म्याग्दी किनारमा करिब ६० मिटर पर्खाल निर्माण ठेकेदारले गर्ने सम्झौता भएको छ।
जोखिमयुक्त क्षेत्रलाई कटानबाट जोगाउन नगरपालिकाले दोभानस्थित बगरको ठूला ढुंगाको व्यवस्थापन गरेको नगरप्रमुखले बताए। संरक्षणको काम सुरु नभएको क्षेत्रमा तत्काल ठूला ढुंगा राख्न निर्माण व्यवसायीलाई भनेको बताईएको छ। तत्काल यस क्षेत्रमा नदी वहाब रोक्न ठूला ढुंगाको ‘बोलर स्कीङ’ गर्ने निर्माण व्यवसायीले बताएका छन्।