काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफूहरुको माग पूरा नभए आन्दोलनका थप शसक्त कार्यक्रम अघि बढाउने बताएका छन्। अध्यक्ष सिंहले सरकारले निर्माण व्यवसायी अनुकुल निर्णय नगरे ‘निर्माण होलिडे’ मात्र नभएर अतिआवश्यक काम समेत रोक्ने बताएका हुन्।
उनले निर्माणपाटीसँगको कुराकानीमा भने, ‘अहिले निर्माण होलिडे जारी छ। अतिआवश्यक काम भने भइरहेको छ। तर हाम्रो माग पूरा नभए त्यो पनि रोक्न सक्छौँ। आन्दोलनका अझ थप शसक्त कार्यक्रम अघि बढाउँछौँ। घेराउ र धर्नाका कार्यक्रम पुन गर्ने छौँ।’
सरकारसँग वार्ता जारी रहेको र अहिलेसम्मको वार्ताबाट आफूहरुको मागप्रति सरकार सकारात्मक रहेको समेत अध्यक्ष सिंहले बताए। उनले भने, ‘यसअघिको वार्तामा हाम्रो मागप्रति सरकार सकारात्मक देखिएको छ। त्यसैले माग पूरा हुनेमा विश्वास गर्छौँ तर माग सम्बोधन नभए हामी काम गर्न सक्ने अवस्थामा भने छैनौँ।’ अध्यक्ष सिंहले निर्माण सामाग्रीदेखि पेट्रोलियम पदार्थमा मूल्य अत्याधिक बढिरहेको र यहि बेला मनसुन समेत सुरु भइ वातावरण प्रतिकुल हुँदा निर्माणको गति सामान्य अवस्थामा फर्किने सम्भावना नरहेको बताए।
गत वैशाख १६ गतेदेखि शुरु भएको सरकार र महासंघबीचको वार्ता जारी छ। यसअघि ३ पटकसम्म बसेको बैठक निष्कर्षबिहीन भएपनि अबको बैठकबाट भने केही निष्कर्ष निस्किने व्यवसायीहरुको आशा छ। सरकार र महासंघबीचको चौँथो बैठक भोलि बस्दै छ।
महासंघले निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि समायोजन, म्याद थप, सार्वजनिक खरिद नियमावलीका त्रुटी सच्याउनुपर्ने लगायतका माग राख्दै गत वैशाख ८ गतेदेखि आन्दोलन गरिरहेको छ। महासंघले वैशाख ११ गतेदेखि ‘निर्माण होलिडे’ घोषणा गरी देशभरका अति आवश्यक काम बाहेक सम्पूर्ण काम समेत रोकेको छ।